बौनिया,कैलाली । सामाजिक सुरक्षा ऐन, निर्देशिका विपरीत दोहोरो सुविधा लिने कैलालीको बर्दगोरिया गाउँपालिकाका तीन जना जनप्रतिनिधिको सुबिधा खोसिएको छ ।
नियम विपरीत दोहोरो सरकारी सुविधा लिएका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार, वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य मथुरा विक ,२ बाट निर्वाचित कार्यापालिका सदस्य गुमा देवी बिश्वकर्माले नियम विपरीत लिएको सामाजिक सुरक्षा भत्ता फिर्ता मागिएको हो ।
उनीहरूबाट बिगोसहित ४ लाख ९६ हजार रुपैयाँ असुल गरिएको पालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख मदन जोशीले जानकारी दिनुभयो । राज्यकोषको दुरुपयोग गरि दोहोरो सुविधा लिने वडा नम्बर ३ का अध्यक्ष सुनारले बिगोसहित १ लाख ८४ हजार रुपैयाँ फिर्ता गरेका छ्न । वडा अध्यक्ष सुनारले वृद्ध भत्ता, तथा वडा सदस्य विक र पालिका सदस्य विश्वकर्माले विगत लामो समयदेखि एकल महिला भत्ता लिदै आएका थिए ।
सामाजिक सुरक्षा नियमावली २०७७ अनुसार कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत भएको व्यक्ति, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्ति र अन्य कुनै रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकास सुविधा तथा अन्य सुविधा पाइरहेको व्यक्तिले दोहोरो सेवासुविधा लिन मिल्दैन ।
यसैगरी पालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको जनाएको छ । विगतका वर्षदेखि फरक विवरण राखि २ देखि ४ वटा सम्म बैङ्क खाता खोली भत्ता लिने गरेको तथ्य फेला परेपछि पालिकाले भत्ता वितरणमा कडाइ गरेको थियो ।
गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म रकम बुझ्न नआएका, मृतकको लगत कट्टा नगरेका तथा एकै व्यक्तिले धेरै खाताबाट रकम बुझ्ने गरेकाहरूबाट पालिकाले ४३ लाख ४७ हजार ४ सय २६ रुपैयाँ फिर्ता गराएको हो ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख जोशीले
बताएअनुसार अस्तव्यस्त रूपमा भत्ता वितरण गर्ने वडाहरू मध्ये वडा नम्बर १ को कार्यालय पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा सो वडाबाट १२ लाख ३ हजार ४ सय ४० रुपैयाँ फिर्ता गएको छ । यस्तै वडा नम्बर २ बाट ११ लाख ५९ हजार ९४ रुपैयाँ, वडा नम्बर ३ बाट ४ लाख ३२ हजार ६५ रुपैयाँ फिर्ता भएको छ । वडा नम्बर ४ बाट २ लाख ५९ हजार ७ सय ३५ रुपैयाँ फिर्ता भएको छ भने सबैभन्दा कम वडा नम्बर ५ बाट १ लाख ४२ हजार ७ सय ९६ रुपैयाँ फिर्ता गरिदा वडा नम्बर ६ बाट ६ लाख ९० हजार २ सय ९२ रुपैयाँ फिर्ता गएको छ ।
पालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४ सय लाभान्वितहरूका लागी ८ करोड ३ लाख २२ हजार ४ सय ९९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापत वितरण गरेको छ । गतवर्ष भत्ता बुझेका मध्ये चालु आर्थिक वर्षमा ३ हजार २८ जनाले मात्रै आफ्नो विवरण नवीकरण गराएका छन् ।