काठमाडौं। यदि तपाईंले आईफोन थर्टिन खरिद गरिसक्नु भएको छ वा खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले यो विषयलाई ख्याल गर्नैपर्ने हुन्छ। किन भने यदि तपाईंले आईफोन थर्टिनको डिस्प्ले फुटाउनु भयो भने मर्मतका लागि एप्पलको आधिकारिक रिपेयर सेन्टरमै जानुपर्नेछ।
यसको खास कारण भनेको एप्पलले आईफोनको डिस्प्लेलाई फेसआईडी संयन्त्रसँग गाँसेको छ। यसको अर्थ यदि तपाईंले एप्पलको आधिकारिक रिपेयर सेन्टरभन्दा बाहिरबाट नयाँ डिस्प्ले राख्नु भयो भने फेसआईडीले काम गर्ने छैन।
यो विषयमा यकिन हुन तपाईंले आईफोन रिपेयर गुरुले तयार पारेका केही भिडिओ हेर्न सक्नुहुन्छ। यी भिडिओबाट मात्र नभएर अन्य परीक्षणबाट समेत एप्पलले फेसआईडीबाट काम गर्ने सुरक्षा प्रणालीलाई डिस्प्लेसँग जोडेको छ।
जसले गर्दा तपाईंले फेरेको नयाँ डिस्प्ले आईफोनले डिटेक्ट गर्न सक्छ र फेस आईडीलाई निष्कृय तुल्याइदिन्छ। त्यसैले यदि तपाईंले डिस्प्ले फुटाउनु भयो भने तपाईंको अबको एउटा मात्र उपाय भनेको एप्पल वा एप्पलको आधिकारिक सर्भिस सेन्टर अथवा एप्पल केयर प्लस जाने हो।
वारेन्टी अवधिपछि तपाईंले आईफोन थर्टिन प्रो म्याक्सको डिस्प्लेका लागि ३२९ अमेरिकी डलर (करिब ३९ हजार रुपैयाँ) तिर्नुपर्नेछ। त्यस्तै आईफोन थर्टिन प्रोका लागि २७९ अमेरिकी डलर (करिब ३३ हजार रुपैयाँ), आईफोन थर्टिनका लागि २७९ (करिब ३३ हजार रुपैयाँ) अमेरिकी डलर र आईफोन थर्टिन मिनीका लागि डिस्प्ले फेरेको २२९ डलर (करिब २७ हजार रुपैयाँ) लाग्नेछ।