काठमाडौ । साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।
खेलको पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएका थिए । खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै श्रीलंकाका गोलरक्षक नेपालको प्रयासमा बाधक बने । अन्जन विष्टले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई सुजनले डाइभ दिँदै सुन्दर बचाउ गरे । ५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो ।
५६ औं मिनेटमा काभिन्दु इशानको प्रहार गोलरक्षक बिट भइसकेको अवस्थामा सुमन अर्यालले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २ गोलको अग्रता कायम राखेका थिए । तर त्यसै क्लिअरेन्समा बनेको मुभमा श्रीलंकाले गोल फर्कायो । मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ६२ औं मिनेटमा काभिन्दुले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गौतम श्रेष्ठले छेक्दै नेपालको लागि खतरा टारेका थिए ।
६८ औं मिनेटमा नेपालले अग्रता बढाउने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा ३ भर्सेस १ को स्थितिमा अघि बढेको नेपालका लागि मनिषको पासमा सन्तोष तामाङले गोलरक्षकलाई बिट गर्न सकेनन् । उनको प्रहार गोलरक्षक सुजनले विफल पारेपछि आएको रिबाउन्डमा आयुष पनि गोल गर्न असफल रहे ।
७४ औं मिनेटमा मनिष डाँगीले काउन्टर अट्याकमा बढेको आक्रमणलाई फिनिस गर्न सकेनन् । श्रीलंकाका डिफेन्डर बिट भएपछि वन भर्सेस वनको स्थितिमा गोलरक्षक सुजनले मनिषको प्रहार बचाएका थिए । लगत्तै आयुषले अनमार्क रहेको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।
८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।