काठमाडौं। पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका छन्। पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।
जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए। यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिए। अनि, पाकिस्तानबाट फैजान अहमदलाई फोन गरेर बोलाए। फैजान विमानबाट काठमाडौं ओर्लिए। सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लिएपछि फैजानलाई उनीहरुले सिभिल होम्समा लगेर हातखुट्टा बाँधेर राखेका हुन्।
झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए। बन्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन्।
पक्राउ परेका दुईजनालाई ललितपुर प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।