काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै अष्ट्रेलिया विजयी भएको हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए ।
स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजपाक्षे ३३ रनमा अविजित रहदा कप्तान डसुन शनकाले १२ रन बनाए ।
अष्ट्रेलियाका मिचेल मार्श, पाट कमिन्स र एडम जाम्पाले २/२ विकेट लिए । जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंक जोड्दै समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । सुपर १२ मा श्रीलंकाको यो पहिलो हार हो । श्रीलंका २ अंक जोडेर चौथो स्थानमा छ ।