काठमाडौ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।