बौनिया,कैलाली । लैङ्गिक हिंसाविरुद्ध कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका किशोरीलाई प्रशिक्षण दिइएको छ । बर्दगोरिया गाउँपालिकाको कार्यालय, न्यायीक समिति तथा महिला विभागको सयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्धको सचेतना जगाउने उदेश्यले प्रशिक्षण दिइएको हो ।
लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको कार्यक्रममा बर्दगोरियाका विभिन्न स्कुल, किशोरी समुहमा आवद्ध ,कल्ब तथा संजालमा रहेका १०० बढीको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रमुख भिमदत्त जोशी र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख जोशीले समाजमा कसैले पनि लिंग र रङ्गका आधारमा, जातका आधरमा विभेद र हिंसा गर्न नहुने र गरिएको खण्डमा भोग्नु पर्ने कानुनी प्रावधानका जानकारी प्रदान गर्नु भएको थियो । उहाँले लैङ्िगक हिंसा भनेको केहो? कुन – कुन ठाउँमा कसरी हुन्छ ? कसरी सुरक्षीत रहने? हिंसामा परे के गर्ने? भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले कोही कसैले पनि अरुको मानसिक तथा सामाजिक र शारीरिक हिसाबमा असरपर्ने गरि कुनै भेदभाव ,छुवाछूत र विभेद गर्न नहुने र हिंसा सहन पनि नहुनेमा जोड दिनुभएको थियोे ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख भट्टले चेतनामा अभिवृद्धि गर्दै ब्यवहारमा परिवर्तन ल्याउन सकेमा हरेक हिंसा न्यूनीकरण गर्न सकिने बताउनु भएको थियोे। उहाँले शिक्षाका माध्यमबाट समाजमा सुधार ल्याउन र हिंसा न्यूनीकरण गर्नका लागि हामी आफैबाट शुरु गर्नुपर्ने बताउनुभएको थियो । यसका लागि उहाँले महिला पुरुष दुवै हातेमालो गर्दै आगडी बढ्यो भने हरेक किसिमका हिंसा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बर्दगिरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले समाजमा रहेका विकृति र विसङ्गती चिर्न शिक्षाको मुख्य भुमिका रहेको बताउदै शैक्षिक रुपले सबल बन्दै आत्मनिर्भर र रोजगारको पाटोमा आफू बलियो बन्न सकेका खण्डमा हिंसा न्यूनीकरणमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक भगवती देवि डगौरा थारुको अध्यक्षता, महिला बिभागकि पानमती रानाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम खेमा कुवरले संचालन गर्नुभएको थियो ।