काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच आज राती कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।