धनगढी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि कैलालीमा उच्च सतर्कता अपनाइने भएको छ । जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसीएमसी)को बैठकले नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि यसको रोकथामका लागि विशेष सतर्कता अपनाउने निर्णय गरेको हो ।
कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा समिक्षा भएको छ। जसअन्तर्गत धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा/पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न जिल्ला प्रशासन कार्यालयमार्फत सूचना जारी गर्ने निर्णय भएको छ ।
यसैगरी जनस्वास्थ्य कार्यालयसंग समन्वय गर्दै कोरोना विरुद्धको खोप लगाउन बाँकी नागरिकलाई खोप लगाउन स्थानीय तहलाइ अनुरोध गर्ने, भारत शीत सीमा जोडिएका त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाई गर्ने पनि निर्णय भएको छ ।