काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई रु.६५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयातततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।