कोहलपुर । कैलालीको धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) बाकेको नेपालगन्ज पुगेको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएपछि धनगढीमा जग्गा पाउन नसकेपछि म्यूजियम नेपालगन्ज पुगेको हो ।
९ वर्षअघि धनगढीको हसनपुरमा स्थापना भएको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक मानिन्थ्यो । तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले बताए ।
अब उक्त म्युजियम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को चिल्ड्रेन पार्कमा संचालित हुनेछ । ११० सिटको cosmic air प्लेन नेपालगन्ज स्थानान्तरण गर्नका लागि नेपालगन्ज उपमहानगर पालिका, नेपालगन्जबासीले ठूलो सहयोग गरेका छ्न । उक्त म्युजियमले समग्र नेपालगन्ज उपमहानगरको विकास र समृद्धि, पर्यटक तथा विद्यार्थीको अध्ययनमा समेत ठूलो भुमिका खेल्ने नेपालगन्जबासीको विश्वास छ ।
उक्त म्युजियमलाई नेपालगन्जमा अझ व्यवस्थित तवरले संचालनको तयारी थालिएको छ । यता उक्त म्युजियम धनगढीमै राख्नका लागि धनगढी उपमहानगरपालिका र यहाँका राजनीतिक दलले व्यवास्ता गरेको भन्दै आलोचना सुरु भएको छ ।