बौनिया । कैलालीको बर्दगोरिया ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको १९ औ साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले पुनः करन चौधरी नेतृत्वको समितिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा लाल बहादुर कठरिया, कोषाध्यक्षमा बिमला डगौरा थारु, सचिबमा रेखा कठरियालगाएत अन्य सदस्य रहेका छ्न ।
कार्यक्रममा सामुदायिक वन महासंघ सुदुरपश्चिम सचिब टेक बहादुर थापाले वन बचाउन, वनको संरक्षण र सम्बर्द्धन गर्नु आम उपभोक्ताको दायित्व र कर्तव्य भएको बताए । उनले वनबाट हामीले के – कति ? फाइदा लिन सक्छौं भन्दा पनि हामीले वन जोगाउन के कति योगदान गरेका छौ, भन्ने बारेमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष रामकृष्ण डगौरा थारु रहनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक वनको संरक्षण अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँले पछिल्लो समय सामुदायिक वन संरक्षणमा चुनौतीसमेत थपिएकाले यसप्रति आम उपभोक्ता सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो।
उहाँले वन संरक्षणविना मानव जातिको समेत अस्तित्व खतरामा हुने भएकाले यसको दिगो विकासमा जोड दिनुभयो। उहाँले वन आम्दानीको स्रोत मात्र नभई सिङ्गो वातावरण संरक्षणको महत्त्वपूर्ण अंग भएकाले आम्दानी संगै यसको संरक्षणमा लगानि गर्न आवश्यक रहेको बताउनुभयो।