काठमाडौं । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बेरुजु भएको थियो भने आर्थिक वर्ष २०७७-७८ मा २५ अर्ब २६ करोड ५० लाख बेरुजु देखिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गरेको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार नियमित गर्नुपर्ने बेरुजु १ सय ८ प्रतिशतले बढेको छ भने असुल गर्नुपर्ने ४५ प्रतिशतले घटेको छ । म्याद नाघेको पेस्की बाँकी १ सय ५३ अंकले बढेको छ ।
केपी ओली सरकारले नेतृत्व गरेको आर्थिक वर्ष २०७६-७७ मा र आर्थिक वर्ष २०७७-७८ मा १२१ प्रतिशतले आर्थिक बेथिति बढेको देखिएको छ । आन्तरिक लेखा परीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७६-७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा १३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बढी बेरुजु भएको पाइएको छ ।
आर्थिक वर्ष २०७७-७८ मा असुल गर्नुपर्ने रकम ५९ करोड १९ लाख रुपैयाँ रहेको छ । नियमित गर्नुपर्ने रकम ६ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ तथा म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड ५७ लाख रुपैयाँ रहेको छ । यो खरब आजको राजधानी दैनिकमा छापिएको छ ।