बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले निर्वाचित जनप्रतिनिधि र लक्षित वर्गका नागरिकहरुलाई व्यक्तित्व विकास सम्बन्धि तालिम प्रदान गरेको छ । कार्यालयले राजनीतिक र निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन निर्वाचित जनप्रतिनिधि र नागरिकलाई शसक्त बनाउन सो तालिम प्रदान गरेको हो ।
कार्यालयले वडा नम्बर ६ का निर्वाचित जनप्रतिनिधि र लक्षित समुदायबाट छनौट गरेका विभिन्न टोलका ४० बढीलाई ५ दिने व्यक्तित्व विकास, उद्घोषण तथा पत्रकारीता बारे तालीम प्रदान गरेको हो । तालिम व्यक्तित्व तथा नेतृत्व विकास, समय व्यवस्थापन, बोल्ने क्षमतामा विकास, अन्तरवार्ताको तयारी र प्रस्तुतीकरण लगायतमा केन्द्रित थियो ।
पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि समेत स्पस्ट रूपमा सामाजिक तथा राजनीति हिसाबमा खुलेर बोल्न नसक्ने, बोल्न डराउने ,हिच्किचाउने तथा लाजमान्ने प्रवृत्ति व्याप्द देखिनु र नागरिकमा समेत त्यसको प्रभाव पर्नजाने हुँदा उनीहरूको व्यक्तित्व विकास र सवलिकरणका लागि तालिम प्रदान गरिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो । उहाँले भन्नुभयो – व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने हो । व्यक्तिको लवाईखवाईले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ, कसरी हिँडिन्छ ? उसको स्वभाव र शैली आदि कुरामा पनि व्यक्तित्व निर्भर रहने हुँदाले व्यक्तित्व विकासबाट नै नेतृत्व विकास सम्भव हुने हुँदा सो सम्बन्धि तालीम दिइएको बताउनुभयो ।
उहाँले कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी देखिने भएकाले पनि अति आवस्यक ठानेत तालीम दिनुपरेको बताउनुभयो । कतिपय जनप्रतिनिधि निर्वाचित भयर अन्तिम कार्यकालसम्म आइपुग्दा समेत ढुक्क तथा निर्धक्क भयर नीतिगत कुरा राख्न नसक्ने र समाजमा केही स-साना कार्यक्रम आयोजना हुदा पनि कार्यक्रम संचाल्न गर्नसक्ने व्यक्तिको अभाव हुँदै आएको परिस्थितिलाई ध्यानमा राखी तालीम संचालन गर्नुपरेको बताउनुभयो । यतिमात्र नभई उनीहरूलाई आधारभुत पत्रकारीताको बारेमा समेत तालीम केन्द्रित थियो ।
तालीममा सहभागी वडा सदस्य लक्षमण चौधरीले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । उहाँले आफ्नो व्यक्तित्व निखार्न यो तालीमले ठूलो मद्धत पुगेको बताउनुभयो। यसैगरी तालीममा सहभागी अर्की जनप्रतिनिधि मिना देवि विकले पनि आफ्नो लागि पनि सो तालिम फलदायी सावित भएको बताउनुभयो । उहाँले भन्नुभयो – पहिला सबैको अगाडि उभियर बोल्न डर लाग्थ्यो, तालीम पश्चात् अगाडि गएर बोल्नसक्ने अभ्यासको विकास भएको छ । यतिमात्र होइन, कसरी बोल्ने, कुन शैलीमा बोल्ने, भाषामा नम्रता र शुद्धता कसरी ल्याउने भन्ने बारेमा जानकारी प्राप्त गरेको बताउनुभयो ।
तालिममा सहभागी रिया चौधरीले पनि बोल्दाबोल्दै हिच्किचाउने डर लाग्ने तथा लाज मान्ने आफ्नो बानी तालीम पश्चात हटेको अनुभव सुनाउनुभयो ।