बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा खेल मैदानमा बालबाटिका क्रिकेट लिग–३ शुरु भएको छ । प्रतियोगिताको मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष थारुले खेलकुद विद्यार्थी र बालबालिकाको शैक्षिक ,मानसिक तथा शारीरिक हिसाबले तनदुरुस्त गर्ने मात्रै नभैइ अनुशासनका क्षेत्रमा ठूलो योगदान दिने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासनको परिधिमा बाध्ने भएको हुँदा विद्यार्थी जिवनमा यसको महत्त्व झन बढी हुने बताउनुभयो । खेलमा एकको जीत र अर्काको हार सुनिश्चित भएको भन्दै जित भन्दापनी केही नयाँ कुरा सिकनका लागि खेल्नुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा पालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु, वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा ,वडा नम्बर २ का अध्यक्ष भेखु चौधरी लगाएतको उपस्थिति थियो ।उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता गुरुकुल इङ्लिस मेडियम स्कुल मोतिपुर र कर्णाली मा वि टिकापुर भिडिरहेका छ्न ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी ८ वटा विद्यालयको सहभागीता छ । अण्डर –१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी ८ विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा गुरुकुल इङ्लिस मेडियम स्कुल, कर्णाली माबी टिकापुर,गणेशबाबा टिकापुर र होलिल्याण्ड अत्तरिया रहेका छन्।
त्यसै गरी समूह ‘बी’ मा आयोजक बालबाटिका बिद्या मन्दिर बौनिया, विद्या भूषण पब्लिक स्कुल धनगढी,संत निरंकारी टिकापुर र लिटिल बुद्ध महेन्द्रनगर रहेका छन्।
प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सबै भन्दा उत्कृष्ट खेलाडीलाई नगद १६ हजार ,मेडल , ट्रफी प्रदान गरिने छ भने ,उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर र उदयिमान खेलाडिलाई जनही १०/१० ह्जार नगद सहित ट्रफी ,मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।