बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिएको पृथ्वीपुर कृषि हाटबजार तरकारी संकलन तथा चिस्यान केन्द्रलाई व्यवस्थित रूपमा संचालनको तयारी थालिएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि सामाग्रीलाई बजारीकरणका लागि स्थानीय स्तरमै सुबिधा दिने उदेश्यका साथ पृथ्वीपुर कृषि हाटबजार तरकारी संकलन तथा चिस्यान केन्द्र निर्माण गरिएको थियो ।
सो कृषि उपज हाट बजारलाई दीर्घकालिन रुपमा कसरी व्यवस्थापन गरि संचालन गर्न सकिन्छ भन्ने विषयमा बुधबार सरोकारवाला निकायका बिचमा अन्तरक्रिया गरिएको छ ।कृषि हाटबजार तथा पुर्वाधार व्यवस्थापन उपभोक्ता समितीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा बर्दगोरिया ४,५,६ र जोशीपुर ६ सिम्रीका किसान तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बर्दगोरिया वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले पृथ्वीपुर कृषि हाटबजार तरकारी संकलन तथा चिस्यान केन्द्रलाई दीगो बनाउने उद्देश्यका साथ कृषक तथा व्यापारीले उचित लाभ पाउनसक्ने गरि संचालन गरिने बताए ।
उनले किसानहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा फलफुल भएकाले व्यवस्थित हाट बजारमा सधैभरी कृषि उपज बिक्रीका लागि साताको एकदिन हाटबजार नै संचालन गरिने बताए । उनले भने उक्त स्थान कृषि पर्दनका लागि मात्रै नभैइ अन्य विबिध कार्यमा समेत उपयोगी भएको हुदा सातामा एक दुईदिन कृषि बजार(मेला) र बाकी अन्य कार्यक्रमका लागि सदुपयोग गर्न सकिने र राजस्वमा समेत वृद्धि गर्न सकिने बताए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका कृषि शाखा प्रमुख झङ्कर बहादुर रावतले कृषि क्षेत्रको विकास र किसानको आयस्तर माथि उकास्नका लागि बजारीकरण र ब्यवसायिकरण प्रमुख विषय भएको बताए ।
कार्यक्रममा सहभागी किसानले हाटबजार संचालनमा आउनु आम किसानका लागि खुशीको कुरा भएको बताए । उनीहरूले यसका साथै उत्पादित कृषि सामाग्रीको उचित मूल्य निर्धारण र ब्यवस्थापन तथ व्यवसायीकरणमा जोड दिन आवश्यक भएको बताए । यसैबीच उनीहरूले कृषि कर्जा ,सहुलियत र अनुदान ,सिचाइ सुबिधा ,मल खाद र बीउ बिजन ,बीमा कम्पनीको सहयोग आवश्यक भएको समेत बताए ।