बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियामा बालविबाह विरुद्ध सामुदायिक सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । दलित महिला अधिकार मञ्च ,धनगढी कैलालीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
मञ्चकि कैलाली जिल्ला अध्यक्ष सावित्रा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर र विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहेका थिए।
कार्यक्रमका सहभागीले बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई अभियान थाल्नुपर्नेमा जोड दिए । उनीहरूले असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे बालविवाह न्यूनीकरणमा सफलता मिक्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुरले बर्दगोरियामा बालबिबाह न्यूनीकरण ,बाल श्रम शोषणको अन्त्यगर्ने सवालमा आफू गम्भीर भएको भन्दै यसको रोकथाम र न्यूनीकरणको कार्यमा सक्दो सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्यले बालबिबाह न्यूनीकरणका लागि सबभन्दा पहिले घरपरिवार नै बढी जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । उनले बालबालिकालाई बोझका रूपमा लिने प्रवृत्ति ,उनीहरूको इक्छाबिपरितको जिम्मेवारी बहन गराउने पारिवारिक कारण पनि बालबिबाह हुने गरेको भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीलाई किशोरी सशक्तीकरण परियोजनाकि कोडिनेटर भगवती चौधरीले प्रशिक्षण दिएकी थिइन । सो क्रममा उनले बालबिबाह भनेको के हो ? यसले केके कुरामा असर पार्छ ? बालविवाह गरे हुने कानुनी कारबाही लगाएतका बारेमा जानकारी दिएकी थिइन ।
सो क्रममा उनले उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिने कुरामा जोड दिदै अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यस्ले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिने बताइन ।
कार्यक्रममा यहाँका विभिन्न किशोरी समुहमा आवद्ध किशोरी ,सामुदायिक सरोकारवाला निकाय ,स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिति थियो । कार्यक्रमको संचालन दलित महिला अधिकार मञ्च बर्दगोरियाकि परिचालिका सुशीला सुनारले गरेकी थिइन ।