बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिकामा बालबिवाह गर्नेको संख्या वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । पालिकामा बालबिवाह न्युनिकरणमा सरकारी तथा गैरसरकारी निकायबाट धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ ।
पछिल्लो ५ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । पालिकामा बालविवाह विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था दलित महिला अधिकार मञ्चको तथ्यांकअनुसार पछिल्लो ५ वर्षको अवधिमा पालिकाको सबैभन्दा बढी बालविवाह वडा नम्बर ३ मा भएको पाइएको छ ।
तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा बर्दगोरिया ३ मा मात्रै ९६ जनाले बालविवाह गरेको उल्लेख छ । बालविवाह गर्नेमा किशोरको सङ्ख्या भब्दा दोब्बर बढी किशोरी छ्न । मञ्चले २०७४ सालदेखि यता गरेको अध्ययन प्रतिबेदनअनुसार यो अबधिमा ७० किशोरी र २७ किशोरले उमेर नपुग्दै बिबाह गरेको पाइएको हो ।
बालविवाह गर्नु सामाजिक तथा कानुनी अपराध भएताभनि बर्दगोरिया ३ मा भने अन्य वडाको तुलनामा बालविवाह बढ्दै गएको पाइएको छ । बर्दगोरिया ३ मा २०७४ मा ५ किशोरी ,३ किशोर ,२०७५ मा ४ किशोरी ,३ किशोर ,२०७६ मा १७ किशोरी ,५ किशोर ,२०७७ मा १७ किशोरी ,६ किशोर ,२०७८ सालमा २७ किशोरी र १२ किशोरले उमेर नपुग्दै बिवाह गरेको पाइएको छ ।
उमेर नपुग्दै बिबाह गर्नेमा १३ देखि १५ वर्ष उमेर समुहका ८ किशोरी ,२ किशोर, १६ देखि १८ वर्ष उमेर समुहक ५० किशोरी ,१६ किशोर ,१९ देखि २० वर्षभित्रका १२ किशोरी र ८ किशोर गरि ९६ जनाले बालविवाह गरेको मञ्चको तथ्यांकमा उल्लेख छ ।
बालविवाह गर्नेमा यो ५ वर्षको अवधिमा ५ जनाले मागी बिबाह, ८८ जनाले प्रेम बिवाह र १ जनाले भागी बिहे गरेको उल्लेख छ । समुदायगत हिसाबमा भने सबैभन्दा बढी दलित समुदायका ५१ प्रतिशत किशोर किशोरीले बालविवाह गरेका छ्न । यस्तै ३३ प्रतिशत ब्राह्मण ,क्षेत्री,१२ प्रतिशत जनजाति र ४ प्रतिशत थारु समुदायका बालबालिकाले बालविवाह गरेको उल्लेख छ ।
मञ्चको किशोरी सशक्तीकरण परियोजना अन्तर्गत यो तथ्यांक संकलन गरिएको थियो । आइतबार बालविवाह न्यूनीकरणका सन्दर्भमा मञ्चले बर्दगोरियामा सामुदायिक सरोकारवाला निकायसंगको अंतरक्रीया कार्यक्रममा परियोजनाकि कोडिनेटर भगवती चौधरीले यो तथ्यांक प्रस्तुत गरेकी हुन ।
सो क्रममा उनले परिपक्व नभएर गरेको विवाहले पढाईमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा अनेक प्रतिकुलता ल्याएको उल्लेख गरिन । सानै उमेरमा विवाह गरेका बालबालिकाहरू शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनिहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै जाने गरेको पाइएको बताईन ।
चौधरीले भनिन, बालविवाह आफैँमा एउटा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारण समेत बालविवाह बनेको छ । अर्कोतिर गरिबी ,पारिवारिक प्रेसर समेत बालविवाहको कारक देखिएको पाइएको उनले बताईन ।
दलित महिला अधिकार मञ्च ,धनगढी कैलालीकि अध्यक्ष सावित्रा घिमिरेका अनुसार सानै उमेरमा विवाह गर्दा उनीहरू सानैमा गर्भवती हुने र स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एक अर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने स्थिति समेत आउने गरेको पाइएको छ । उनका अनुसार परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिवीका कारण बालविवाह बढिरहेको छ ।
यता सरोकारवाला निकायले बर्दगोरियालाई बालविवाह मुक्त पालिका घोषणा गर्नेगरी अभियान संचालन गरिरहेका बेला बढ्दो बालविवाहका घटनाले अभियान माथिनै प्रश्न उब्जाउएको छ ।
स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।