बर्दगोरिया । पछिल्लो समय देश्व्यापी रूपमा देखिएको डेङ्गु रोग नियन्त्रणका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान संचालन गरिने भएको छ ।
बर्दगोरिया गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग नियन्त्रणका लागि यो कार्यक्रम गरिने भएको हो । बर्दगोरियामा समेत डेङ्गुका विरामी छ्न । बर्दगोरिया पनि यसको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउछ्न । दोदोधरा अस्पतालका प्रमुख इन्चार्ज कृष्ण देव जोशीका अनुसार शनिबार डेङ्गु रोग नियन्त्रण तथा रोकथाम गर्नका लागि समुदायका स्वास्थ्य सरोकारवाला सङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान स्वरुप आइतबार बौनिया बजारमा यो कार्यक्रम गरिनेछ । लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट यसको रोकथामको पहल थाल्ने जनाइएको छ ।
के हुन ? डेङ्गुबाट बँच्ने उपायहरु
दिउसो टोक्ने लामखुट्टे एडिज हो। तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण छ। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो: गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ।
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ। उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ। घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ। घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ। डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ।
डेङ्गु बढ्न सक्ने कारणहरु के हुन ?
हिजोआज बढेको अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण एक मुख्य कारण हो। नेपालमा शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीहरुले डेङ्गु संक्रमण बढाउदै लैजान सक्ने देखिन्छ। लामखुट्टेले झन्डै ३ किमि क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ । तसर्थ, डेङ्गु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन्। प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा डेङ्गु संक्रमण बढाएको पाइन्छ। डेङ्गु प्रायश: पानी पर्ने अत्याधिक गर्मी महिनाहरुमा बढी मात्रामा देखिन्छ।