बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको बर्दगोरियामा निर्मित १५ शैया अस्पताल संचालनको लागि चाहिने आवश्यक उपकरण सामाग्री प्रदेश सरकारले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शुक्रबार मुख्यमन्त्री शाहले देशभरमै पहिलो निर्माण कार्य पुरागरि संचालनमा आएको १५ शैयाको दोदोधरा आधारभुत अस्पतालको उद्घाटन गर्दै उहाँले सो प्रतिबद्धता जनाउनु भएको हो । देशभर एकैपटक शिलान्यास गरिएका १५ शैयाका ३ सय ९६ वटा आधारभुत अस्पताल मध्य सबैभन्दा पहिला बर्दगोरिया गाउँपालिकाले निर्माण कार्य पुरागरी संचालनमा ल्याउन सफल भएकोप्रति धन्यवाद दिदै निर्माण कार्यमा सक्रिय बनेर उदाहरणीय काम गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफ्नै निर्वाचन क्षेत्रमा देशकै पहिलो १५ शैया दोदोधरा आधारभुत अस्पताल संचालनको उद्घाटन गर्न पाएकोमा आफै हर्सित भएको बताउनुभयो । उहाँले अब दोदोधरा अस्पताल व्यवस्थापन र संचालनमा यहाँका सबै नागरिक र स्थानीय सरकारले गम्भीरताका साथ लाग्नुपर्ने बताए । उनले अस्पताल संचालनमा रहदा चाहिने औजार ,मेसिन, तथा उपकरणको व्यवस्थापनको लागि प्रदेश सरकारले जिम्मा लिने बताउनुभयो ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा १५ शैयाको अस्पताल संचालनमा आएको छ। तत्कालीन दोदोधरा स्वास्थ्य चौकीको स्तरबृद्धी गरी १५ शय्याको दोदोधरा अस्पताल बनाइएको हो ।
कुल १३ करोड ८३ लाख १८ हजार २ सय ८६ रुपैयाँ लागत रहेको १५ शय्या अस्पताल २०८० असार २० गते सम्पन्न गर्ने गरी लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीले २०७८ असार २० गते सम्झौता गरेको थियो । तर सो कम्पनीले सम्झौता सकिनु ४ महिना अगाबै अस्पताल निर्माणको काम पुरागरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो ।
अस्पताल संचालनमा आएसङ्गै अब सामान्य रोगको उपचारको लागि यहाँका नागरिकले धनगढी , नेपालगन्ज लगायतका शहरी अस्पतालमा जानु पर्ने बाध्यता हट्ने आशा गरिएको छ।