बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले संस्थागत विद्यालयको अनुगमन थालेको छ। पालिकामा विद्यार्थी भर्ना अभियान चलिरहेका बेला शिक्षा शाखाले यहाँ संचालित संस्थागत विद्यालयको अनुगमन थालेको हो ।
पालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्म पुर्ण रूपमा निशुल्क घोषणा गरिसकेको अबस्थामा यहाँ संचालित संस्थागत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन गरिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताउनुभयो । पालिकामा संचालित संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका बमोजिम सञ्चालन भए÷नभएका बारेमा अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा विद्यालयमा शिक्षक तथा विद्यार्थीको सङ्ख्या, भौतिक पूर्वाधार, विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना,खानेपानीको अबस्था, विद्यार्थी भर्ना तथा मासिक शुल्क लगायतका विषयमा जाचबुझ गरिएको पालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिले बताउनुभयो ।
अनुगमन टोलिले आइतबार बर्दगोरिया ३ मा संचालित एनटी विएस बोर्डिङ स्कुलबाट अनुगमन सुरु गरेको हो । अनुगमनमा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, पालिका उपाध्यक्ष गणेश राज गिरि, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सहभागिता रहेको थियो ।