बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बालकन्या माद्यामिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागतसहित यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो ।
विद्यालय व्यवस्थापन समितिको पहलमा बालकन्या माद्यामिक विद्यालयलाई गाउँपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबाट कक्षा ११ अन्तरगत साधारण धारतर्फको पढाई सुरु हुने भएको प्रधानाध्यापक भुमि प्रसाद शर्माले बताउनुभयो । जसको लागि साउन १ गतेदेखि कक्षा ११ को लागि फारम वितरणको काम हुनेछ ।
विद्यालयमा कक्षा ११ को पठनपाठन संचालनको लागि शुक्रबार यहाँका सरोकारवाला निकायहरू बिच बृहत छलफल तथा सल्लाह सुझाव संकल्न गरिएको छ । सो क्रममा उनीहरूले गाउँमै रहेको विद्यालयमा मावि कक्षा ११ को पढाइ सुरु हुनेभएपछि खुशी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तराज जोशीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनुभएको थियो । यसैगरी विशिस्ट अथितिका रूपमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) अथितिका रूपमा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम,वडा नम्बर १ का वडा सदस्य लगाएत रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बालकन्या माद्यामिक विद्यालयले कक्षा ११ संचालनको लागि अनुमती प्राप्त गरि कक्षा संचालनको तयारी गर्नु निकै खुशीको कुरा भएको बताउनुभयो । उहाँले बालकन्या माविसहित पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको वृद्धि विकास ,भौतिक संरचना, शैक्षिक गुणस्तर वृद्धि लगाएतका कुरामा कुनै कमि हुन नदिने प्रतिबद्धता बताउनुभयो । उहाँले बर्दगोरियालाई शैक्षिक क्षेत्रको हव तथा गुणस्तरीय शिक्षाको केन्द्र बनाउन आफुले कुनैपनी कसुर बाकी नराख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – तपाईंहरु बालबालिकाको शैक्षिक गुणस्तर माथि उकास्न लागिपर्नुहोस ,विद्यालय संचालन तथा व्यवस्थापनको लागि बजेटको चिन्ता नलिहोस । त्यसको जिम्मेवारी स्थानीय सरकारले लिन्छ तर बालबालिकाको शैक्षिक स्तर माथि कसरी उकास्न सकिन्छ भन्ने सोचसहित कार्य गर्नुहोस । विद्याल्यको लागि चाहिने आवश्यक सबै स्रोत साधन हामी पुर्याउन तयार छौ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले विद्यालयमा सौहार्द वतावरणसहितको पढाइले बालबालिकामा शैक्षिक गुणस्तर माथि उकास्ने भएको हुँदा यसतर्फ बढी केन्द्रित हुन आग्रह गर्नुभयो । स्थानीय सरकारले पालिकामा कक्षा १ देखि १० सम्म पुर्ण रूपमा निशुल्क शिक्षा लागु गरिसकेको अबस्थामा विद्यालयमा अध्यापनरत शिक्षकहरुले कसरी हुन्छ विद्यार्थीको शैक्षिक अबस्था माथि उठाउन सकिन्छ सो बारेमा ध्यान पुर्याउन जरुरी रहेको बताउनुभयो । उहाँले राज्यले सामुदायिक विद्यालयमा करोडौंको लगानी गरिरहेको अबस्थामा सो अनुसारको नतिजा दिलाउन नसक्नु सबैको कमि कमजोरी भएको हुँदा यसतर्फ बढी सचेत हुन आवश्यक छ ,भन्नुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले शिक्षा नै सबैभन्दा ठूलो कुरा भएको हुँदा आफ्ना बालबालिकालाई शिक्षाको उज्यालो ज्योतिबाट कसैले पनि बन्चित गर्न नहुने बताउनुभयो । उहाँले कक्षा ११ मा भर्ना गरेर मात्रै नहुने भन्दै दिगोपन गर्ने गरि राम्रो शिक्षा सहित कक्षा संचालन गर्न आग्रह गर्नुभयो । उहाँले बर्दगोरिया १ गाउँ र शहर दुवैको संगम स्थल भएकाले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेर टिकाउन र शिक्षा दिएर बिकाउने गरि उत्पादन गर्न आबस्यक रहेको बताउनुभयो ।