डडेलधुरा । निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मन्त्री बोहराले नेपाली काँग्रेस डडेलधुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो ।
स्थानीय तह निर्वाचन, २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।
सोही बुँदाको अवज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडियोसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले जनाएको छ । उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानबिनको प्रक्रियामा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभएको छ ।
मन्त्री बोहरा मन्त्रालय छाडेर अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएका थिए । अमरगढीमा काँग्रेसबाट नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल उम्मेदवार छन् ।