कोहलपुर। एकीकृत समाजवादी पार्टीका युवा नेता धनराज वास्तविकले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीको अफर स्वीकार गर्नुपर्ने धारणा अघि सारेका छन्।
बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका पार्टी अध्यक्ष नेपालले प्रधानमन्त्रीको अफर आएको तर, आफू त्यस्ता प्रलोभनमा नपर्ने बताएका थिए।
तर, यता पार्टीको प्रचार विभागका केन्द्रीय सदस्य वास्तविकले कम्युनिस्ट आन्दोलनको रक्षा विकासका निम्ति अध्यक्ष नेपाल अघि सर्नुपर्ने र त्यसको नेतृत्व लिनुपर्ने बताएका हुन्।
नेता वास्तविकले शुक्रबार बिहान सामाजिक संजाल फेशबुक मार्फत आगामी सरकारको र कम्युनिस्ट एकता अभियानको नेतृत्व लिन अध्यक्ष नेपाललाई खुल्ला सुझाव दिएका छन्।
उनले लेखेका छन्, “कम्जोर बन्दै गएको र छिन्नभिन्न भएको नेपाली वाम आन्दोलनलाई नयाँ उचाई दिन माधव नेपाल कमरेडले प्रधानमन्त्रीको अफर स्वीकार गर्नुपर्छ। उहाँको नेतृत्वमा कम्युनिस्ट एकता अघि बढ्छ र त्यसले सहि गति लिन्छ भने नेतृत्वको अफर किन अस्वीकार गर्ने? नेतृत्व लिन किन पछि हट्ने? आजको मुल प्रश्न यहि हो। वाम एकता हुँदा कम्युनिस्टहरूलाई मात्रै होइन, देश, जनता र कांग्रेसलाई समेत फाइदा हुन्छ। बरु वाम एकतालाई चुनावी स्वार्थभन्दा बाहिर राखौं। ठन्डा दिमागले सोचौं। सच्चिने मौका छ, नगुमाऔं। नेतृत्वलाई कार्यकर्ताले वाम एकताको लागि दबाब दिऔं। अन्टसन्ट नबोलौं।”