बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा व्यवसायीक पशुपालनतर्फ किसानहरुको आकर्षण बढ्दै गएको पाइएको छ । पशुपालनबाट राम्रो आम्दानी हुन सक्ने सम्भावना र सरकारबाट अनुदान समेत पाइने देखिएपछि किसानको आकर्षण पशुपालनतर्फ देखिएको हो ।
यहाँका किसानहरुको आवश्यकता तथा मागमा आधारित कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिदै गएपछि पशुपालन व्यवसायमा किसानको आकर्षण देखिएको पालिकाको पशु शाखा कार्यालयले जनाएको छ । पशु शाखाका अनुसार हालसम्म पालिकाभित्रका १ सय ४७ वटा फर्म दर्ता गरि किसानले व्यवसायीक रूपमा पशुपालन गर्दै आएका छ्न । जसमा पुरुष भन्दा महिलाको सङ्ख्या बढी छ ।
सुरुवाती चरणमा व्यवसायीक फर्म पुरुषको नाममा दर्ता गराउने किसानको सङ्ख्या बढी देखिएको थियो । तर पछिल्लो समय भने ती दर्ता भएका फर्म समेत महिलाको नाममा गराउनेको सङ्ख्या बढ्दो छ । पालिकामा दर्ता भएका १४७ फर्म मध्य पुरुषको नाममा पछिल्लो समय ६० वटा फर्म देखिन्छन् भने बाकी सबै महिलाको नाममा नामसारी गरिएको पाइन्छ । व्यवसायीक कारोबारमा सहजता, सरकारी अनुदानमा सहजता र बैंकिङ कारोबारमा समेत सहुलियत कर्जा पाइने देखिएपछि यस्तो भएको पाइएको हो ।
पशु शाखा प्रमुख जयप्रसाद कोइरालाकाअनुसार पालिकालाई पशुपालनमा समेत नमूना बनाउनका लागि पशु शाखा स्वयं स्थलगत रूपमा खटिने गरेको छ । समुदायमा गरिएका पशुहरुमा कुनै प्रकारको समस्या देखिए वा पशु बिरामी भए भने पशु शाखाका प्राविधिकहरु स्थलगत रूपमा पुग्ने गरेका छ्न । किसानलाई सेवा प्रवाहमा सहजता होस भन्नका लागि हालसम्म पालिकामा पशु शाखा कार्यालय बौनिया र पशु इकाई पृथ्वीपुर (वडा नम्बर ६) बाट सेवा प्रदान गर्दै आएको शाखा प्रमुख कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार पालिकामा व्यवसायीक पशुपालनमा महिलाको समेत आकर्षण बढ्दो देखिदै गएको छ ।व्यवसायीक रूपमा पशुपालन गर्ने किसानले बाखा, बङ्गुर, भैंसी ,गाई फाम र माछा पालनना राम्रो आम्दानी समेत गर्दै आएको पाइएको शाखा प्रमुख कोइरालाको भनाई छ ।
शाखाले पशुपालक किसानहरुलाई मुख्यतया पशु स्वास्थ्य, पशु विकास र रोजगारी गरी तीन किसिमका कार्यक्रम गर्दै आएको पशु शाखा प्राविधिक अनिल ओलीले बताउनुभयो । उहाँका अनुसार पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत शाखाले पशुहरुको स्वास्थ्य परिक्षण र उपचार सेवा प्रदान गर्ने, महामारी रोगबिरुद्धका खोप कार्यक्रमहरु सञ्चालन गर्ने, आकस्मिक रोगहरु देखापरेमा स्थलगत निरक्षण गर्दै निराकरण गर्दै आएको छ ।
यस्तै पशु विकास कार्यक्रमअन्तर्गत नस्ल सुधार कार्यक्रम, पशुपालक किसानलाई तालिम, व्यवसायीक कार्यक्रमहरु सञ्चालन गर्ने सिजन अनुसार घाँसका बीउ वितरण लगायतका कार्यक्रम गर्ने गरिएको छ ।उहाँकाअनुसार पालिकाको तथ्यांक र किसानको व्यवसायिकता हेर्ने हो भने सञ्चालन कार्यक्रमहरुबाट धेरै पशुपालक लाभान्वित भएको देखिन्छ ।