काठमाडौँ । नेकपा माअाेवादी केन्द्रका नेता जनार्दन शर्मा पुन : अर्थमन्त्रीमा नियुत्त हुनुभएको छ । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आउनुभएका शर्माले राजीनामा दिनुभएको थियो । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको समाचार मिडियाले प्रकाशन गरेसँगै र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा मागेसँगै उहाँले राजीनामा दिनुभएको थियो । करको दर हेरफेर गर्न उहाँले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उहाँ आलोचित बन्दै आइहनुभएकाे छ ।