बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने घैला नालामा अवरुद्ध सडक पालिकाले बनाएको छ । वर्षातका कारण अवरुद्ध भएको सडक पालिकाले बनाएको हो ।
गाउँपालिका अध्यक्ष कर्ण कुवरको निर्देशनमा सो सडक मर्मत गरिएको हो । सो नालामा सडक मर्मत तथा सुधारका लागि वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी ,वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु, वडा नम्बर २ का अध्यक्ष गोविन्द विकको रोहवरमा गरिएको हो ।
घैलानालामा सडक अबरुद्ध हुँदा विगत केही दिनदेखि आवातजावतमा समस्या उत्पन्न भएको थियो । बर्दगोरिया गाउँपालिका देखि छिमेकी जोशीपुर र भजनि नगरपालिका जोड्ने मुख्य सडक अवरुद्ध हुदा सवारी साधन यात्रु तथा नागरिकलाई समस्या उत्पन्न भएको थियो ।
सोही समस्यालाई मध्यनजर गरि पालिका अध्यक्ष कुवरको पहल तथा निर्देशनमा पालिकाले सो नालामा अवरुद्ध सडक मर्मत गरेको हो । मंगलवार देखि सुरु भएको मर्मत कार्य बुधबार सकिएको छ ।
घैला नालाको कटानने सडक भासिएपछि आवातजावतमा समस्या थियो । सडक अवरुद्ध हुँदा नागरिकलाई परेको सास्तीलाई ध्यानमा राखी सडक मर्मत गरिएको हो । सडक बनेसङ्गै अब आवातजावतमा सहजता भएको छ ।
पुल बनेन, ठेकेदार फरार
सो नालामा सम्झौताअनुसार निर्माण कम्पनी र ठेकेदारले पुल निर्माणको काममा ढिलाइ गर्दा आवातजावतमा समस्या हुँदै गएको छ । जसका कारण नागरिकलाई कहिले धुलाम्मे त कहिले हिलाम्मे बाटोको यात्राले सास्ती दिने गरेको छ । सडकपुर बौनिया बजारदेखि भजनी सडकखण्डमा पर्ने उक्त घैला नालामा मल्टी स्पान बक्स कल्भर्ड (पुल) निर्माणका लागि २०७७/५/११ गते दैलेखको सुर्य वयान एन.एस.जेभी संग ठेक्का सम्झौता भएको थियो ।
सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत, पुर्वाधार विकास कार्यालय ,कैलालीको १ करोड ३७ लाख २० हजार लगानीमा उक्त पुल निर्माणको कार्य थालिएको थियो । ठेक्का सम्झौता बमोजिम उक्त नालामा २०७८/११/१४ मा निर्माण कार्य सकिसक्नु पर्ने भएपनि काम भने अधुरै अबस्थामा रहेको छ ।