काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।
अध्यक्ष महाश्रम शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ ।
कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ ।
एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।