काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको हो । त्यसका लागि बोर्डको बैठक बसिरहेको छ ।बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो । बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको थियो ।‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।