बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा शनिबार ३१औ अन्तरास्ट्रिय अपांगता दिवस मनाइएको छ । बर्दगोरिया गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा यो दिवस मनाइएको छ ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक गणेश राज गिरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो । यसवर्षको समावेशी विकासका लागि रुपान्तरित समाधान , पहुँचयुक्त र समतामूलक विस्वको लागि उर्जावान सृजनशीलताको प्रावधान” भन्ने नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चितका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । यसैगरी अपांगता भएका व्यक्तिहरुको अधिकारलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान पालिका सरकार लागिपरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले समाजमा पछाडि परेका अपांग लगायतका समुदायको हित र उत्थानका लागि आफुहरु संवेदनशील भएर काम गरिरहेको दावी गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यक ऐन, कानुन निर्माणको कामलाई प्रभावकारी तवरले अगाडि बढाउदै जाने बताउनुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक लगाएतको उपस्थिति रहेको थियो ।