नगरपालिकाका भेटेरेनरी अधिकृत हरिलाल जैशीका अनुसार असोजदेखि फार्ममा बंगुर भटाभट मर्न थालेपछि परीक्षण सुरु गरिएको थियो । परीक्षणबाट बंगुरमा अफ्रिकन स्वाइस फिभर रोग प्रमाणीकरण भएको थियो ।
‘भटाभाट बंगुर मर्न सुरु भएको जानकारीपछि कात्तिक १४ गते बंगुरको रोग धनगढी पशु ल्याबमा पहिलो परीक्षण गरिएको थियो,’ जैशीले भने । काठमाडौंको पशुपक्षी रोग अन्वेषण प्रयोगशालाबाट कात्तिक १६ गते अफ्रिकन स्वाइन फिभर भएको प्रमाणीकरण भएको जैशीले बताए ।
उनले अफ्रिकन स्वाइन फिभर अफ्रिकन स्वाइन फिभर रोगको प्रमाणीकरण भएपछि फार्ममा बचेका ७० वटा थप बंगुरका पाठापाठीलाई समेत मारेर डिस्पोजल गरिएको बताए । ‘सुदूरपश्चिमको यो एउटा बंगुर फार्ममा मात्रैं अफ्रिकन स्वाइन फिभर रोग कसरी देखियो रु’ उनले भने, ‘यस सम्बन्धमा अध्ययन भइरहेको छ ।’ भेटेरेनरी अधिकृत जैशीले भजनीका अन्य बंगुर फार्मबाट कुनै पनि रोगबाट बंगुर मरिरहेको वा बिरामी खबर अहिलेसम्म प्राप्त नभएको बताए ।
अरु ठाउँबाट खबर नआएकोले बडिमालिका फार्ममा मात्रै कसरी यो अफ्रिकन स्वाइन फिभर रोग देखियो आफै आर्श्चयमा परेको उनले सुनाए । उनका अनुसार प्रारम्भिक अध्यायनअनुसार फार्म सञ्चालकले फार्मसँगै जोडिएको सटरमा मासुपसल पनि चलाएका थिए । ‘मासु पसलमा बाहिरबाट मारेर ल्याएको बंगुरको मासुसमेत बिक्री गरिने गरेको बुझिन्छ,’ उनले भने, ‘कुनै अन्य किसानले मारेर ल्याएको बंगुरबाट यो फार्ममा अफ्रिकन स्वाइन फिभर सरेको अनुमान प्रारम्भिक रूपमा गरेका छौं ।’ नजिकै सीमावर्ती भारतीय किसानको फार्ममा पालिएका बंगुरबाट यहाँसम्म मासुका माध्यम वा अन्य कारण पनि यो संक्रमण रोग सरेको हुन सक्ने उनले बताए ।
नेपाल र भारतको सीमावर्ती भजनी नगरपालिका ३ का स्थानीय किसानको पशु चौपायका खरिदबिक्री भारतीयसँग पनि हुने गरेको छ । बडिमालिका बंगुर फार्मका सञ्चालक बुढाले समेत आफ्नो फार्ममा कसरी यो रोगको संक्रमण भएको पत्तो पाउन नसकेको बताएका छन् । भेटेरेनरी अधिकृत जोशीले यो रोग मान्छेमा नसर्ने तर बंगुरमा मात्रै सर्ने गरेको बताए । ‘संक्रमित बंगुरको खाएको वस्तु चराले लिएर अर्को बंगुर फार्ममा खसालेको अवस्थामा त्यहाँको बंगुरले खाएमा वा संक्रमित बंगुरको खोरबाट मान्छेको जुत्ताचप्पल वा अन्य कुनै माध्यम अर्को बंगुरको खोरमा संक्रमण हुन सक्छ,’ उनले भने, ‘त्यसैले संक्रमित बंगुरको खोरसमेत नस्ट गर्नुपर्नेहुन्छ ।’