बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । पालिकाको कृषि सेवा शाखाकाअनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १० प्रतिशतले बढेको छ ।
कृषि शाखा प्रमुख झंकर बहाहुर रावतले यसवर्ष पालिकामा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ४ प्रतिहेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।”यसका साथै उन्नत जातको धानको बीउ प्रयोग गरिनु,प्राङ्गारीक मलको प्रयोग, सुक्ष्मतत्व मलको प्रयोग ,जिङ्क, कृषि पोषण,कृषि क्रान्तिको प्रयोग,मौसमको अनुकूलता, समयमा बीउबिजनको उपलब्धता र समयमा पानी परेका कारण पनि धान उत्पादन वृद्धि भएको हो ।
यसवर्ष बर्दगोरियामा चार हजार ६ सय ३२ मेट्रिक टन धान उत्पादन भएको छ । पालिकाको कुल २३ सय हेक्टर क्षेत्रफल मध्य १३ सय ८० हेक्टरमा धानबाली हुने गर्दछ । पालिकाले वडा नम्बर २ लाई नै मुख्यगरि धानखेतीको लागि पकेट क्षेत्र निर्धारण गरेको छ। यहाँका किसानले मुख्यत सर्जु ५२, हाइब्रेड जातको धान, सावा मनसुली जातको धानखेती गर्दै आएका छ्न।