काठमाडौ । नवनिर्वाचित सांसदहरूलाई पुस ७ गते शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई सपथग्रहण गराउने तयारी गरेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ७ गते दिउँसो १ बजे सपथग्रहण गराउने तयारी भइरहेको जानकारी दिए । “पुस ७ गते १ बजे सपथग्रहणको तयारी हामीले गरेका छौं,” उनले भने ।
नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउने छन् ।
यसअघि आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ (२) अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।