काठमाडौं । विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि पराजित फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा निर्माण गरिएको यो ‘टिकटक’ सायरी क्षणभरमै भाइरल बन्यो। यस पटकको विश्वकपमा सर्वाधिक ८ गोल गरेर गोल्डेनबुट जितेका एम्बाप्पेको आकर्षक खेलका कारण उनको चर्चा विश्वकप र गोल्डेन बल जितेका अर्जेन्टिनाका महसु र खेलाडी मेसीको भन्दा बढी देखिन्छ।
यस पटकको विश्वकप सकिएको छ। तर यो सायरीको मूलमर्म नेपाली राजनीतिको परिप्रेक्षेमा अझै सकिएको छैन। विश्वकप सम्बन्धित यो सायरी नेपाली राजनीतिसँग अझ भनौँ, नेपाली कांग्रेसको राजनीतिसँग जोडेर हेर्दा झनै सार्थक देखिन्छ। संघीय निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवासँग पराजिता युवा उम्मेदवार सागर ढकालको पराजयको चर्चा पनि देउवाको जित भन्दा बढी देखिएको थियो। दूरदराजमा पुगेर राजनीतिका खतर्नाक खेलाडीलाई टक्कर दिने सागर साहसले पराजितका बाबजुद भरमार चर्चा बटुलेको थियो।
बुधबारमात्रै नेपाली कांग्रेस संसदीय दलको चुनावमा पार्टी सभापति देउवासँग पराजित नेपाली कांग्रेसका युवा उम्मेदवार गगन थापाको अवस्था पनि यही सायरीसँग मिल्दो देखिन्छ। कांग्रेसभित्र मात्रै हैन, आमनेपालीको तर्फबाट आशा गरिएका थापाको पराजयको चर्चा आधादर्जन पटक प्रधानमन्त्री बन्न लागेका देउवाको विजयभन्दा बढी देखिन्छ। परिवर्तनको संघारमा पुगेको कांग्रेसमा देउवा कसरी विजयी भएभन्दापनि युवा जमातका आशाका केन्द्र गगन कसरी पराजित भए भन्नेमा बढी चर्चा चलेको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।