बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बेमौसमी रूपमा नयाँ जातको आलु खेती थालिएको छ। पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको आलुको उत्पादनमा ह्रास आउदै गएपछि बेमौसमी रूपमा नयाँ जातको आलुको खेती थालिएको हो ।
पालिकाको कृषि शाखाकाअनुसार यसपटकदेखि जुम्लामा उत्पादन हुँदै आएको कुमाल सेतो १ जातको आलुलाई यहाँ बेमौसमी रूपमा परीक्षण गरिदैछ । आलुको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउ विस्थापित गर्न र बिउ आलुमा आत्मनिर्भर बनाउन यो कार्यको सुरुवात गरिएको पालिकाका कृषि शाखा प्रमुख झङ्कर रावतले बताए ।
उनले पछिल्लो समय राशायानिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै मौसम परिवर्तनको असरले किसानले लगाउदै आएको पुरानो आलुको उत्पादन घट्दै गएपछि योपटक देखि पालिकामा जुम्लामा उत्पादन हुदै आएको कुमाल सेतो १ जातको आलुको बेमौसमी खेती सुरु गरिएको हो । जसका लागि किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिदैछ ।
पालिकामा बेमौसमी रूपमा कुमाल सेतो १ जातको आलु खेती गर्न इच्छुक किसान, किसान फार्मलाई अनुदानमा बीउ बितरण गरिदैछ । बर्दगोरिया गाउँपालिकामा आलु खेती भएपनि बर्षौदेखि एउटै बिउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि शाखा प्रमुख रावतले बताए ।
पालिकामा बेमौसमी रूपमा परीक्षण थालिएको कुमाल सेतो १ जातको आलु माघमा लगएर तीन महिनामै उत्पादन हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई आलुमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने अपेक्षा छ ।
शुक्रबारदेखि कुमाल सेतो १ जातको आलुको बीउ वडा नम्बर ६ मा रहेको कृषि इकाईबाट किसानलाई वितरण गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले किसानलाई बीउ हस्तान्तरण गरेका छ्न । यसको खेती गर्न इच्छुक किसानले पालिकाको कृषि शाखा र कृषि इकाइमा सम्पर्क गर्न सक्नेछ्न ।