काठमाडौं । उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन् ।
नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले आगामी चैत महिनामा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ । हाल बैंकहरूले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब १ प्रतिशत घटेपछि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएका हुन् ।
बैंकहरूले निक्षेपमा साधारण बचततर्फ ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
बचत निक्षेप र कर्जाको ब्याजदरमा सामान्य घटाए पनि बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखेका छन् । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका छन् । त्यस्तै, संस्थागत निक्षेपतर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर रहेको छ । बैंकहरूले कल निक्षेपमा ३ दशमलव २१ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए । यसलाई घटाएर ३ प्रतिशतमा झारेका छन् । ब्याजदर समायोजन हुँदा पुरानो कर्जाको वैशाख र नयाँ कर्जाको चैतदेखि ब्याजदर घट्ने भएको छ । पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औसत आधार दर लिएर मात्र गर्न सकिने राष्ट्रले व्यवस्था गरेको हुँदा पुरानो कर्जाको ब्याजदर वैशाखदेखि मात्र घट्ने भएको हो । माघमा बैंकको आधार दर १० दशमलव २ प्रतिशत छ। यो निर्णयसँगै कर्जाको ब्याजदर एकडेढ प्रतिशत घट्नेछ । अर्थात् अब बैंकको कर्जाको ब्याजदर १६ प्रतिशतको हाराहारीमा सीमित हुनेछ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको खर्च पनि घट्ने भएको छ । जसका कारण बैंकहरूको मासिक खर्चमा करिब ६ अर्ब रुपियाँ कटौती हुने अनुमान गरिएको छ ।