बर्दगोरिया । प्रायः कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले आफ्ना कुरा सुनाएर जान्छन् । आफूलाई अति नै व्यस्त जनाउन तोकिएको समयभन्दा ढिलो आउने र भाषण गरेर जाने चलन रही आएको छ ।
स्थानीय स्तरमा विकास र समृद्धिको सपनाहरु संगै शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाको नारापनि मुख्य एजेन्डानै उनीहरूको हुनेगर्छ । तर विकासे योजनादेखि शैक्षिक क्षेत्रको सुधारका लागि गरिएका कार्यक्रम र योजना छनौटमा विद्यार्थीलाई प्राय सहभागितानै शुन्य जस्तै हुन्छ भन्दा फरक नपर्ला । जसको प्रभावका कारण विद्यार्थीले आफ्ना कुराहरू सम्बन्धित ठाउँसम्म पुराउन सक्दैनन् ।
तर मंगलबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित मार्ग दर्शन बोर्डिङ स्कुलमा दृश्य फरक देखियो । गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ,शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट ,पालिकाका प्रवक्ता एवंम वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमसहितको टोलि संस्थागत विद्यालयको अनुगमनका क्रममा त्यहाँ पुगेको थियो । टोलिले विद्यालयको भौतिक अबस्था, खानेपानी ,शौचालय, डेक्सबेन्चसहित विद्यार्थी भर्ना अभियान ,विद्यालयमा विद्यार्थी र शिक्षकको अबस्था, शैक्षिक रणनीति लगाएतका विषयमा अनुगमनसहित जानकारी लिएर फर्किदै थियो ।
सोही क्रममा नजिकै कोठा रहेको कक्षा ७ का विद्यार्थीले पालिका उपाध्यक्ष गिरिसङ्ग केहीकुरा सोध्ने जमर्को गर्यो र पालिका उपाध्यक्ष गिरिसङ्ग प्रश्न सोधियो । उपाध्यक्ष गिरि विद्यार्थी बस्ने डेस्क-बेञ्च र उनीहरुकै कक्षा कोठामा थिए । उनीहरुको हातमा कलम कापी थियो । सोही क्रममा कक्षा ७ मा अध्यनरत छात्र विपिन बमले पालिका उपाध्यक्ष गिरिलाई स्वागतगर्दै केही प्रस्न सोध्ने अनुमति मागगरे र प्रश्न सोध्न शुरु गरे ।
विपिनको पहिलो प्रश्न थियो – उपाध्यक्ष ज्यु आज पहिलोपटक तपाईहरु हाम्रो स्कुलमा अनुगमनका लागि आउनु भएको छ ,यो अनुगमन किन र के – को लागि ? विपिनको प्रश्नको जवाफ दिदै पालिका उपाध्यक्ष गिरिले भने – हामी पालिकमा रहेका सबै विद्यालयको (सामुदायिक र संस्थागत) अनुगमन गरिरहेका छौ । खासगरी पालिकामा रहेका सबै विद्यालयको शैक्षिक अबस्था राम्रो होस भन्ने हाम्रो संकल्प हो ।
लगत्तै विपिनले दोस्रो प्रश्न सोधे – हाम्रो पालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम सबै विद्यार्थीले कहिले पाउछन् ? प्रश्नको जवाद दिदै उपाध्यक्ष गिरिले भने – धेरै विद्यार्थीले प्राप्त गरिसकेको अबस्था छ । बाकिले छिट्टै पाउनेछ्न ।
विपिनले यतिमात्रै सोधेन्न उनको अर्को प्रश्न थियो – उपाध्यक्ष ज्यु तपाईंहरु निर्वाचित भइसकेपछि हालसम्म के कति महत्त्वपूर्ण काम सम्पन्न गर्नुभयो ? विपिनको प्रश्नमा उपाध्यक्ष गिरिको जवाफ थियो – हामीले यसै शैक्षिकसत्र देखि पालिकाभरका सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म पुर्णरुपमा निशुल्क शिक्षा लागु गरिसकेका छौ । यस्तै भौतिक पुर्वाधार ,विकास निर्माणदेखि खानेपानी र स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम पूरा भएका छ्न । उपाध्यक्ष गिरिको जवाफ सुनिसकेपछि विपिनले नियमित रूपमा विद्यालयको अनुगमन गर्नुपर्ने बताए ।
उपाध्यक्ष गिरिलाई प्रश्न सोध्ने मार्ग दर्शनका छात्र विपिन विद्यालयका निकै अनुशासित ,इमानदार विद्यार्थी भएको विद्यालय प्रशासनले जनायो ।
पालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्म पुर्ण रूपमा निशुल्क लागु गरिसकेको अबस्थामा यहाँ संचालित संस्थागत विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन सुरु गरिएको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बताईन । उनले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका बमोजिम सञ्चालन भए÷नभएका बारेमा अनुगमन सुरु गरिएको बताइन ।
अनुगमनका क्रममा टोलिले मार्ग दर्शन ,नव बालबाटीका, जगत तारा र द सनराइज इङलिस बोर्डिङ स्कुलमा पुगेर विद्यालयमा शिक्षक तथा विद्यार्थीको सङ्ख्या, भौतिक पूर्वाधार, विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना,खानेपानीको अबस्था, विद्यार्थी भर्ना तथा मासिक शुल्क लगायतका विषयमा जाचबुझ गरेको थियो ।