बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवा स्थित काँडा नदिमा डुवेर मृत्यु भएका ९ वर्षिय बालक अमर बिकको परिवारलाई स्थानीय सरकारले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहिवार बसेको कार्यपालिका बैठकले मृतक बिकको परिवारलाई राहातस्वरुप २ लाख रूपमा दिने निर्णय गरेको हो । काँडा नदिमा नुहाउने क्रममा बुधबार स्थानीय लक्ष्मण बिकका ९ बर्षिय छोरा अमरको डुबेर मृत्यु भएको थियो ।
पालिका प्रवक्ता मिथुन गौतमकाअनुसार मृतक बालकको परिवारलाई स्थानीय सरकारको तर्फबाट सो रकम प्रदान गरिने जनाइएको छ । यसैबीच
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का ९ वर्षीय अमर विश्वकर्माको मृत्युलाई गाउँपालिका सँग जोडेर अतिरञ्जित गर्दै बदनाम गराउन खोजेको गाउँपालिकाले जनाएको छ । विश्वकर्माको बुधवार दिउँसो काँडा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।
त्यसपछि विभिन्न मिडियाले गाउँ सरकारलाई दोषी देखाउँदै समाचार सम्प्रेषण गरेका थिए । नघट्नु पर्ने घटना घटेको छ । त्यसमा हामी निकै दुखी छौ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने,… “तर केही मिडियाहरूले गाउँपालिकाले नै मारेको भाव दिने खालमा समाचार सम्प्रेषण गरे । एउटा घटना सँग अर्को विषय जोडेर बदनाम गर्न खोज्नु गलत हो । मिडियाले तथ्य बोल्ने हो तर त्यसमा मिडिया नै परिचालित भए जस्तो देखियो । यसरी जनता भड्काउने काम पटक्कै राम्रो भएन ।” नदीको धार परिवर्तन गर्दा गाउँ पनि जोगिने र बालुवा पनि सङ्कलन हुने भएपछि स्थानीय कै आग्रहमा ठेकेदारले धार परिवर्तन गरेको र त्यही पानमा बालक डुबेको उनको भनाई छ ।
गाउँपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित तथा प्रसारित समाचारको खण्डन गरेको छ । बालक पानीमा डुबेको समाचार सम्प्रेषण गर्दा गाउँपालिकालाई जोडेर कपोकल्पित कुरा बनाई गाउँपालिकालाई आँच आउने गरी भ्रामक समाचार सम्प्रेषण गरी गाउँपालिका विरुद्ध जनतालाई भड्काउने वातावरण सृजना गरेको कार्यप्रति गाउँपालिका घोर भर्त्सना गर्दछ । गाउँपालिकाका प्रवक्ता मिथुन गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । सञ्चार माध्यमले सत्य तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।