बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा निर्माणाधीन मतगौरा खानेपानी आयोजनाको अनुगमन गरिएको छ । बुधबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरि (लालदीप) सहितको टोलीले उक्त खानेपानी आयोजनाको अनुगमन गरेको हो ।
मतगौरा खानेपानी आयोजनालाई वडा नम्बर ६ को ठूलो योजनाको रूपमा हेरिएको छ । प्रदेश सरकारको झन्डै १ करोडको लगानीमा बन्दै गरेको सो खानेपानी आयोजनाको अहिले सुरुवाती चरणमा ट्याङ्की निर्माणको काम थालिएको छ । नागरिकलाई घर घरमा स्वच्छ पिउने पानी उपलब्ध गराउने उदेश्यका साथ निर्माणाधीन सो खानेपानी आयोजनाको निरन्तर आफुहरुले अनुगमन र निरीक्षण गर्दै आएको पालिका उपाध्यक्ष गिरिले बताउनुभयो ।
खानेपानी आयोजना निर्माणका क्रममा कुनैपनि त्रुटि नहोस र समयमै निर्माण कार्य पूरा होस भन्ने हेतुले अनुगमनसहित निर्माण कम्पनीलाई निर्देशन दिने गरिएको गिरिले बताउनुभयो । सो मतगौवा खानेपानी आयोजना निर्माण कार्य पूरा भएपछि बर्दगोरिया ६ र वडा नम्बर ५ का केही गाउँ गरि झन्डै ३ हजार घरधुरी लाभान्वित हुनेछ्न ।