बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बाट यहाँका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा वितरणको काम सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, कैलाली जिल्ला समितिमार्फत बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बाट लालपुर्जा वितरण गरि पालिकामा जग्गाधनी पुर्जा वितरणको कार्यको शुभारम्भ गरिएको हो ।
शनिबार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्यक्रमको सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले सरकारले सुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताउनुभयो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई भूमि उपलब्ध गारउने अभियानमा आयोग जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफूहरू लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार संविधानको कार्यान्वयन र भूमिहीनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ ।सोहीअनुसार आयोगले पनि भुमिहीनलाई जतिसक्दो छिटो जग्गाधनी पुर्जा वितरणको लागि तिव्र गतिमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा साङ्सद अरुण कुमार चौधरी, सुदुरपश्चिम प्रदेश साङ्सद रामेस्वर चौधरी, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, वडा अध्यक्षहरु, वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवर ले पुस्तौँदेखि जमिनको भोगचलन गर्दै आएकाहरू पुर्जा नहुँदा समस्यामा परेको हुँदा आफुहरु जतिसक्दो छिटो यहाँका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउनका लागि जग्गाधनी पुर्जा (लालपुर्जा ) वितरण गर्न आफू लागिपरेको बताउनुभयो ।
अध्यक्ष कुवरले वडा नम्बर ३ बाट सुरु भएको पुर्जा वितरणको काम अन्य वडामा पनि छिटोभन्दा छिटो वितरणको लागि आफू अहोरात्र खटिएको बताउनुभयो । हाल अन्य ठाउँमा जग्गा नाप्ने काम तीव्रगतिमा भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अबको केही महिनामा सबै वडामा जग्गा धनी लालपुर्जा वितरण हुन्छ।’
भोगचलन गरेको वर्षौंपछि लालपुर्जा पाउँदा स्थानीय भने निकै खुशी भएका छन् ।