बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । आइतबार एक कार्यक्रमका बीच बर्दगोरियालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षता, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप), प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकामा संचालित स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
पूर्ण खोप सुनिश्चितताका लागि पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीबाट चैत र वैशाखमा घरधुरी सर्वेक्षण गरिएको उमेर समुहका सबैलाई खोप लगाई सकिएपछि पालिकालाई पुर्ण खोप सुनिस्चित घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताउनुभयो । पालिकामा १ देखि ७ वटै वडाका शून्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै १७ सय बढी बालबालिकाहरूले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको उहाँले बताउनुभयो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो । खोपसँगै अन्य कार्यक्रमहरूमा पनि यी निकायहरुहरुको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।
पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्त्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरू अगाडि बढाएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि पालिकाको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासँगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको भनाइ उहाँको छ । स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमहरू पालिकाले गर्दै आएको समेत उहाँले बताउनुभयो । उहाँले सबैको सहयोग र साथबाट पालिकामा १५ शैया अस्पताल संचालनमा ल्याउन सफल भएको भन्दै जनताको स्वास्थ्यलाई घरघरमा पुर्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।
यसैगरी, पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत प्रमुख तथा खोप फोकल पर्सनलाई प्रशंसा पत्रमार्फत सम्मान गरिएको छ । खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र वितरण गरिएको हो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,पालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।