बागलुङ, ३१ चैत २०७७ ।
जैमिनीमा भर्खरैमात्र सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक प्राप्त भएको छ ।
बागलुङमा सञ्चालित ९ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दो खेल अन्तरगत जैमिनी नगरपालिका तेक्वान्दो संघले १ स्वर्ण सहित ६ पदक हात पारेको हो ।
सोमबार भएको ५१ केजी तौल समुहको खेलमा शान्ती माध्यामिक विद्यालय कुश्मीसेराका सन्दिप परियारले आफ्ना प्रतिद्वन्द्वी ताराखोला गाउँपालिकाका कृष्ण बिकलाई पराजित गर्दै स्वर्ण जित्न सफल हुनु भएको जैमिनी नगर तेक्वान्डो सँघका सचिव तथा प्रशिक्षक अर्बिन थापा मगरले जानकारी दिनुभयो ।
यस्तै ४६ केजी तौल समुहको तेक्वान्दो प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका सन्ध्या मल्ल द्वितीय हुँदै रजत जित्न सफल हुनुभएको छ भने ४५ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालय कुश्मिसेराका केशव थापा, छात्रा तर्फको ४४ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालयकी छात्रा मुना पुलामी थापा मगर, ४२ केजी तौल समुहको प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराकी पूजा मल्ल र ४८ केजी तौल समुहको प्रतियोगितामा दुर्गा थापा मगरले काश्य जित्न सफल हुनु भएको छ ।
स्थापना कालको सुरुवातमा नै जैमिनीले यति पदक पाउनु भनेको तेक्वान्दोमा भएको प्रगति मानिएको छ । तेक्वान्दोमा मात्रै जैमिनीले एक स्वर्ण, एक रजत र ४ काश्य हात पार्न सफल भएको छ ।