मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताए ।रामेछाप नगरपालिकाका कर्मचारीले रामेछाप–७, सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई काठमाडौं पठाउन हेलिकोप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । रासस