वैशाख १२,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले जथाभावी आगो नलगाउन आग्रह गरेको छ । पछिल्लो केही दिनयता प्रतिकुल मौसमका कारण बढी हावाहुरी चलिरहेको भन्दै यसप्रति सचेत रहन आग्रह गरेको हो ।कार्यालयले बुधबार सूचना जारी गर्दै यतिबेला केही किसानले गहुँबाली भित्राइसकेको र केहिले अझैपनी बाली भित्राउन बाकी रहेको हुँदा आगलागीजन्य कुनैपनी क्रियाकलाप नगर्न भनेको हो ।
आगलागीजन्य कारणबाट जनधनको ठूलो क्षति हुने तथा केही दिन अगाडि मात्रै आगलागीबाट पालिकाभित्रकै वडामा किसानले लगाएको गहुँबालीमा ठूलो क्षति पुगेको भन्दै सचेत रहन सूचनामार्फत आग्रह गरेको हो ।
यदी यस सूचनालाई अटेर गरि आगलागीजन्य क्रियाकलापबाट कोही कसैको क्षति भएको खण्डमा जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४(१) बमोजिम ५ लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
जथाभावी आगो लगाई क्षति पुर्याउनेलाई ५ लाख जरिवानादेखि २ वर्ष कैद हुने
