बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम स्थानीय सरकारको सञ्चित कोषमा जम्मा गरेको छ ।सो सामुदायिक वनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’अनुसार वन पैदावार वापत बिक्री वापत आम्दानीको १० प्रतिशत रकम स्थानीय तहलाई बुझाउने प्रावधान अनुसारको रोयल्टी स्थानीय सरकारलाई बुझाएको हो ।सोमबार सामुदायिक वनका अध्यक्ष लालसिंह विस्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयको १० प्रतिशतका दरले हुन आएको कुल २ लाख ३८ हजार ८ सय २० रुपैयाँ बर्दगोरिया गाउँपालिकाको राजस्व शाखामा दाखिला गरेका हुन ।रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहले संघीयताको मर्मअनुसार स्थानीय सरकार सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम जम्मा गर्नेमा पहिलो बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा १० प्रतिशत राजश्व बुझाउनु पर्ने प्रावधान छ, त्यस अनुसार पालिकाले यसअघि सबै सामुदायिक वनको अनुगमन गरी वार्षिक आयको १० प्रतिशत रकम स्थानीय सरकारलाई राजस्व तिर्नुपर्ने विषयमा जानकारी गराएको थियो ।