बागलुङ, २ जेठ २०७८ ।
दमेकमा चार दिनदेखि विद्युत अवरुद्ध हुँदा गाउँ नै अन्धकारमा बस्न बाध्य भएका छन् । ट्रान्सर्फमर बिग्रिँदा बागलुङको जैमिनी नगरपालिका २ दमेक गौँडाका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
साविक दमेक गा.वि.स वडा नं. २ मा रहेको सामुदायिक विद्युतिकरणको केन्द्रिय लाइनको ट्रान्सर्फमर बिग्रिँदा ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको सामुदायिक विद्युतिकरणका अध्यक्ष श्यामलाल सुवेदीले जानकारी दिनुभयो ।
कोरोनाका कारण लकडाउन भएकाले समस्या समेत थाहा नभएको र तीन दिनसम्म प्राधिकरणका कर्मचारीहरु समेत आउन नसक्दा समस्या पहिचान भएको थिएन । शनिवार मात्र प्राधिकरणका कर्मचारीहरुले हेरेपछि ट्रान्सर्फमर जलेको थाहा भएको उहाँको भनाई छ ।
अहिलेसम्म चार पटक ट्रान्सफर्मर जलिसकेको जानकारी दिँदै अध्यक्ष सुवेदीले अझै केहिदिन विद्युत मर्मत गर्न नसकिने बताउनुभयो ।
समितिमा प्रयाप्त पैसा समेत नभएको र आर्थिक श्रोत जुटाउनेदेखि नयाँ ट्रान्सफर्मर किन्नेसम्मको प्रक्रिया गर्दा अझै चार पाँच दिन लाग्न सक्ने उहाँको आाकलन छ ।
यता स्थानीयहरुले भने समितिले वेवास्ता गर्दा पटक पटक यस्ता समस्या झेल्नुपरेको गुनासो गर्दै आएका छन् । विद्युत अवरुद्ध हुँदा कुटानी पिसानी जस्ता अत्यावश्यक कामहरु ठप्प भएको छ भने गाउँबाट टाढा जानुपर्ने समस्या आइपरेको छ ।
विद्युत नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा आफन्तसागको सम्पर्क समेत टुटेको र पछिल्ला सूचनाहरुबाट समेत वञ्चित हुन परेको स्थानीयको गुनासो छ ।