बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निजी श्रोत शिक्षकलाई तलब स्वरूप वितरण गरेको ६२ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा पालिकाले नियम विपरीत सो रकम निजी श्रोतका शिक्षकहरूलाई तलब खुवाएको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ मा स्वीकृत दरबन्दी भित्रका शिक्षकको तलब भत्ता बापत स्थानीय तहलाइ सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ । यस्तै साबिकको जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका र कुनै पनि दरबन्दी तथा राहत अनुदान कोटा प्राप्त नगरेका विद्यालयलाई शिक्षक व्यवस्थापन गर्ने गरी शैक्षिक सत्र २०७६ का लागी सहयोग अनुदान दिन सकिने व्यवस्था छ ।
तर गाउँपालिकाले स्वीकृत दरबन्दी भित्र नपरेका तथा विद्यालयले विगत देखी नै आन्तरिक श्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई समेत सो आर्थिक वर्षमा पालिकाले वित्तीय समानिकरण अनुदानबाट ६२ लाख ३५ हजार रुपैयाँ नियम विपरीत वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत वर्ष १ सय २२ जना शिक्षकले बुझे करोड बढी तलब
महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु उल्लेख गरिएका पालिकाका १ सय २२ जनाका लागी हाल पनि वार्षिक करोड बढी तलब निकासा हुने गरेको छ । यसरी स्थानीय तहबाट पनि तलब बुझ्नेमा २० जना कार्यालय सहयोगी, ३९ जना बाल विकासका कर्मचारी, ४ जना लेखापाल, ३४ जना प्राथमिक तहका शिक्षक, १७ जना निम्न माध्यमिक तहका शिक्षक र ८ जना माध्यमिक तहका शिक्षक रहेका छन् ।
पालिकाको शिक्षा शाखाका अनुसार उनीहरूले विद्यालयको निजी श्रोत सहित पालिकाबाट पनि ३ हजार देखी १४ हजार सम्म विभिन्न स्केलमा तलब बुझ्ने गरेका छन् । उनीहरूले गत आर्थिक वर्ष २०७७÷०७८ मा पनि १ करोड १७ लाख ७२ हजार रुपैयाँ तलब बुझेको शिक्षा शाखाले जनाएको छ । यो रकम पनि आगामी आर्थिक वर्षमा बेरुजु निस्कने निश्चित जस्तै बनेको छ ।
स्थानीय तहले व्यवस्थापन गरेका शिक्षकहरूको बर्सेनि तलब बेरुजु देखिन थालेपछि पालिकाले ऐन तथा नीति निर्माण गरी कानुन सम्मत हुने गरी शिक्षकहरूको व्यवस्थापन गर्नु पर्ने आवाजहरू उठ्न थालेका छन् ।