बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा १५ शैय्या अस्पताल निर्माणको काम सुरु भएको छ । वडा नं. १ मा रहेको दोदोधरा स्वास्थ्य चौकीलाई स्तरोन्ति गर्दै १५ शैय्या अस्पताल निर्माणको पहिलो चरणको काम सुरु भएको हो ।
नेपाल सरकारको कुल १८ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको उक्त अस्पतालको निर्माणको ठेक्का लुम्बिनी थोदुङ शिव खेम्ती जेभीले प्राप्त गरेको थियो । अस्पताल निर्माणको काम भने जेभीसंगको सहकार्यमा एइ कन्ट्रक्सनले थालेको हो । दुई वर्षभित्र अस्पताल निर्माणको काम सक्नेगरी सम्झौता भएको र निर्धारीत मितिमै काम सक्ने लक्ष राखिएको निर्माण कम्पनीका सव कन्ट्र्याक डाइरेक्टर एकेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो करिव १२ हजार स्क्वायर फीटमा दुईवटा भवन भन्नेछ्न, भवन निर्माणका क्रममा कुनै समस्या नआएको खण्डमा समयमै काम सम्पन्न हुनेछ ।
सरकारले जनतालाई सर्वसुलभ स्वास्थ्य उपचारका लागि सहजता ल्याउन गतवर्ष देशका ३९६ स्थानमा एकै पटक अस्पताल शिलान्यास गरेको थियो ।
बर्दगोरिया १ मा १५ शैय्याको अस्पताल निर्माणको कार्यसुरु हुनु निकै खुशीको कुरा भएको बताउदै वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले अस्पताल निर्माणको काम समयमै सकिनेमा विस्वस्त रहेको बताउनुभयो । उहाँले अस्पताल बनेपछि वर्षौंदेखि स्वास्थ्य उपचारका लागि कहिले धनगढी त कहिले कोहलपुर ,नेपालगन्ज जानुपर्ने यहाँका स्थानीयको वाध्यता समाप्त हुने बताउनुभयो । उहाँले एमबीबीएस डाक्टरसहितको स्वास्थ्यसेवा पाउने बर्दगोरियाबासीको सपना भने अब छिट्टै पुराहुने बताउनुभयो ।
यता दोदोधरा स्वास्थ्य चौकी इन्चार्ज नृप बहादुर बिष्टले दोदोधरा स्वास्थ्य चौकीलाई स्तरोन्नतिको प्रक्रिया मार्फत १५ शैयाको अस्पताल बनाइने काम सुरु भएको बताउदै यो समग्र बर्दगोरियाबासीका निम्ति सुखद कुरा भएको बताउनुभयो ।
यसैगरी बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’निर्माण गर्ने व्यवस्था अनुसार यहाँको वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालका रूपमा स्तोरन्तिको काम सुरु भएको बताउनुभयो । उहाँले स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन अहिलेको मुख्य आवश्यकता रहेको समेत बताउनुभयो ।
अस्पताल निर्माणको काम सुरु भएपछि स्थानीयहरु भने उत्साहित भएका छ्न ।