दैलेख। गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीकाे शवकाे पहिचान खुलेकाे छ।
शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे। उनको हत्या आराेपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएकाे छ।
गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते उनलाई पक्राउ गरेको थियो। आरोपितको संलग्नताको प्रमाण जुटाएर गणेशविरुद्ध पीडित परिवारबाट हत्या कसुरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।
अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन्। प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेकाे र आफ्नाे एक छाेरी समेत भएकाे बताएपछि विवाद भएकाे र अस्मिता खाेलामा हाम फालेकाे बयान दिँदै आएका थिए।
अस्मिताकाे शव घटनाकाे भाेलिपल्ट भदाै १५ गते बिहान बिउराखेत नजिक भैरीखाेलामा भेटिएकाे थियाे। त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका-८ झुप्रेसाल जङ्गलमा प्रहरीले खाडल खनी शव गाडेको थियो।
अस्मिताले काम गर्दै आएकाे घरबाट भदाै २८ गते दैलेखमा फाेन गरेर साेधेपछि उनकाे खाेजी सुरु भएकाे थियाे। काठमाण्डाैबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेकाे थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेकाे शवकाे फाेटाेसँग दाँज्दा उनकाे पहिचान खुलेकाे हाे।
अस्मिताकाे माेबाइलकाे नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएकाे कल डिटेल्सकाे आधारमा गणेश विकले हत्या गरेकाे खुल्न आएकाे हाे। प्रहरीले भदाै १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएकाे डिटेल्स निकालेकाे थियाे। घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचेर फालेपनि प्रहरीले दुई दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको थियाे।
भदौ १४ गते बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएकाे खुलेको हाे। अस्मिताकाे गएकाे भदाै २९ गते दाहसंस्कार गरिएकाे थियाे ।
अस्मिताकी आमा शान्ता बाेगटीले गएकाे बुधवार गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी छन्।
प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।
उज्यालो अनलाईनबाट