बौनिया,कैलाली । विगत लामोसमयदेखि तलबभत्ता नपाएको भन्दै आन्दोलित बर्दगोरियाका सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीले मंगलबार पालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दीका कारण गाउँपालिकाबाट नागरिकले पाउने सम्पुर्ण सेवा प्रभावित बनेको छ । पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको टोलिले तालाबन्दी गरेको हो ।
पालिका अन्तर्गतका १७ वटै सामुदायिक विद्यालयका शिक्षकहरुको टोलिले दसैंतिहार र छठपर्वलगायत ठूला चाँडपर्व नजिकै आएका बेला पालिकाले तलबभत्ता निकासा नगरी बेवास्ता गरेको तालाबन्दी गर्नुपरेको बताएका छ्न ।
उनीहरूले बालविकास शिक्षकहरुलाई नेपाल सरकारले तोकेको तलबभत्ता प्रदान गरिनुपर्ने, नीजिस्रोत शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गरिने अनुदान रकम यथाशीघ्र निकासा हुनुपर्ने, विद्यालय कर्मचारीहरुको तलबभत्ता मासिक रूपमा निकासा हुनुपर्ने, शिक्षक कर्मचारीहरुको तलब भत्ता मासिक रूपमा निकासा हुनुपर्ने, शिक्षक अनुदान, शिक्षण सिकाई अनुदान प्राप्त गरेका विद्यालयलाई समयमा नै पत्राचार गरि शिक्षक नियुक्तिका लागि अनुमति दिनुपर्ने माग अघि सारिएको नेपाल शिक्षक महासंघ बर्दगोरियाका अध्यक्ष उदयसिंह बीसीले बताउनुभयो ।
गाउँपालिका अन्तर्गतका १७ सामुदायिक विद्यालयमा लेखापाल र कार्यालय सहयोगी गरि ३७ जना कर्मचारी, मावि र निमावि तहको शिक्षण सहयोग अनुदानमा ७ जना शिक्षक कार्यरत छन भने नीजिस्रोतबाट तलबभत्ता सेवासुविधा लिइरहेका ७० जना शिक्षक रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
यसअघि प्रावि तहमा १२ हजार, निमावि तहमा १३ हजार र मावि तहमा कार्यरत नीजिस्रोत शिक्षकले पालिकाबाट मासिक तलब बुझ्दै आएका थिए । त्यस्तै, बालविकास शिक्षक र विद्यालय कर्मचारीले नेपाल सरकारबाट निकासा हुने मासिक अनुदानमा ४ हजार थप तलब लिँदै आएका थिए ।
शिक्षा शाखाका प्राविधिक सहायक निरिख कर्णका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को साउनमहिनादेखि तलब निकासा रोकिएको छ । उहाँले प्रक्रियागत रूपमा शिक्षा कार्यविधिसमेत नभएकाले तलब निकासामा समस्या देखिएको बताउनुभयो ।
बर्दगोरिया गाउँपालिकाले चालू शैक्षिक वर्षमा नीजिस्रोतबाट तलबभत्ता खान पाउने गरि नियुक्ति भएका शिक्षकको पारिश्रमिक व्यवस्थापनका लागि २ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
यता गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले शिक्षकले उठाएका मागहरू बारे आफुले एकलौटी निर्णय गर्न नमिल्ने र नियम अनुसार तलब दिदै आईरहेको बताए । उनले भने सभा बाट २ करोड छुट्याइएको छ ,कार्यपालिकामा छलफल हुन बाकी भएका कारण शिक्षकको तलब हाल्न बाकी रहेको बताए ।